Tuesday, March 1, 2011

गजल -५४


किन भाग्य यस्तो हुन्छ ?! जहाँ जान्छु फुट्छ त्यहीं
आफ्नो देश नफापेर,बिदेशिंदा लुट्छ त्यही,

घाम पानी क्यै नभनी,रातदिन खटी रा'थेँ
जाँ गए नि अभागीको,भाग्यलाई भुट्छ त्यहीँ,

आफ्नै घर प्यारो हुन्थ्यो,दु:ख पछि नलागे त
जहाँ जाउँ पछ्याएर,त्यसले नै कुट्छ त्यहीं,

आफ्नो कोही नदेखेर,भगवान सम्झी बस्दा
साथी भेट्छु त्यै साथीको,दलालीले चुट्छ त्यहीं,

साथै राख्न खोज्छु सधैँ,भाग्यलाई समातेर
गम् लाएर टाँसे पनि,बारम्बार छुट्छ त्यहीँ,

भाग्य खोज्छु लिबियामा,आफ्नालाई खुशी राख्न
कुना पसी लुके पनि,दु:ख पीडा जुट्छ त्यहीँ,

बाँधी राखी मनभित्र,सुखका ती पलहरू
आनन्दले ज्यु'न खोज्दा,धैर्यता नै टुट्छ त्यहीँ ।।
२०६७-११-१६,१६:५५ बजे

No comments:

Post a Comment