Friday, January 14, 2011

गजल

भुल्न खोजेँ पिरतीलाई भुल्न सकिन
आनन्द भै जीवनभरि झुल्न सकिन

पिरतीका पानाहरु कति थिए कति
मनभित्रै राखेँ थुपारी खुल्न सकिन

सस्तो भयो आँसु पनि जति खेरै बग्छ
कसैसँग हाँसी बसेर घुल्न सकिन

पिडा पनि कति सारो मेरो पछि लाग्छ
खुल्ला आकास छामी छामी डुल्न सकिन

शिरमा लाउने फुल भै फुल्न सकिन
ढोका छेउको खुशीभित्र हुल्न सकिन ।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-२६,बिहान०३:३० बजे

गजल

मेरो पनि तिम्रै मनको छेउमा बास थियो हिजो
मुटुभित्रै राख्छ्यौ भन्ने मनमा आश थियो हिजो

कती आए मन पराई बाटो हिड्न गारो थियो
प्यासी दिलको प्यास मेट्ने तिमी खाश थियो हिजो

तिमी बाहेक कोही थे'न यौबन बाँकी हुँदा खेरी
जहाँ हिंडे जहाँ पुगें त्यहाँ मायां रास थियो हिजो

छोडि गयौ एक्लै पारी छोड्छौ भन्ने शंकै थिएन
कुरी बसें तिमीलाई कुरी बस्ने सास थियो हिजो

जीवन यस्तो हुन्छ भन्ने कहाँ थियो र सोचाइमा
मैले सोचे मायाँ थियो तिम्रो लागि दाश थियो हिजो ।।

गल्कोपाखा साइबर क्याफे
२०६७-०९-२७, १८:०२

गजल

भो भो पर्दैन मनमा नबसाए हुन्छ
छेऊ पर्दिन मलाई नखसाए हुन्छ

थाहा पाउन कस्लाई बाँकी छ र ! यहाँ
चर्को बोलेर दुनियाँ नहँसाइ हुन्छ

कती बिषालु रहिछ्यौ चुसेरै लठ्यायौ
सर्प बोलाई कसैले नडसाए हुन्छ

कस्तो महँगो प्रेम यो दुनियाँ भरिको
पुग्यो मलाई अब त नफसाए हुन्छ

थामी जीवन यसरी जिउँदै छु आज
बौला भा'छैन मलाई नजचाए हुन्छ ।।

दुम्ब:मार्ग,सामाखुशी

२०६७-०९-३०,२३:३१