Monday, January 31, 2011

गीत : गोली झिके जस्तै घाऊ



रातैभरि रोईरह्यौ हँसाउन सकिन प्रिया !
तिमीले झैँ ढिक्का आँसु खसाउन सकिन प्रिया !

चोट के थ्यो त्यो मनमा, सोधिरहेँ सोचीरहेँ
उपाय क्यै निस्कन्छ कि, खोजीरहेँ सोचीरहेँ
थाहा पाउनै सकिन त्यो, तिम्रो चोट के थियो खै !
भत्भती यो छाती पोल्यो, अँध्यारोको दियो जस्तै

टप्किएका मोती दाना, खसि रहे खसि रहे
टुलुटुलु एकोहोरो, हेरी हेरी बसिरहेँ
गोली झिके जस्तै गरी, दिलभित्र बन्यो घाउ
मेरो पनि त्यही हाल छ, कसलाई म सुनाउँ ?!!

२०६७-१०-१३,२२:०६ बजे

गीत : जाउँ हिड चितवन



तिमीले भन्या पु-याउँला हिड चितवन
दुईचार दिन रमाएरै उतै बिताउन 
चितवन जान्छौ कि तास चिउरा खान्छौ कि !
मुग्लिन कटेसी जे भनेँ मान्छौ कि !
माईक्रो बसमा चढ्यौली सरर
हावा चल्छ मन छुने हरर
सौराहा लैजाउँला हात्तीमा चढाउँला
दुई चार दिन रमाउँला परिवार बढाउँला
टाँडी बजार घुमौली साईकलमा
मायाँ गरी चुमौली पलपलमा
तिमीले भन्या पु-याउँला चितवन
दुईचार दिन रमाएरै उतै बिताउन।। 

२०६७-१०-१३,२२:२९ बजे














Wednesday, January 26, 2011

गजल

के थियो खै लिनुपर्ने ! हुल बोकी आयौ
अरु अघि तिमी पछि तुल बोकी आयौ

रित्ता गाग्री घैँटो बोकी नाराबाजी गर्दै
थोपो पानी छैन भन्दै झुल बोकी आयौ

पानी भन्दै कराउँदै नारा लाए पनि
तिर्नुपर्ने बाँकी महशुल बोकी आयौ

मै'ना भरी हजारौँको पानी ताने पनि
न्युनतम तिरी रा'को भुल बोकी आयौ

आफ्नै धारा बन्द रै'छ मैले भने पछि
होलचेञ्ज गर्छु भन्दै फुल बोकी आयौ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-१०-१०,२०:२४ बजे

मेरो पुरानो हाते मेशिन


बन्द तिम्रो धाराबाट

पानी निकाल्नु थियो
तिम्रो धाराको पाईपको प्वालभित्र
खै के के अड्किएको थियो कुन्नी !
कती बर्षदेखि
तिम्रो धारामा पानी आएको थिएन कुन्नी !
तिमीले आफैले
तिम्रो धाराको प्वालमा
घोचेको भए नि
फोहर कसिङ्गर त
बाहिर आउँथ्यो होला
पानी बग्थ्यो होला
तिम्रो धाराबाट,
तिमीले बोलाएको दिन
पानी निकाल्न नसकेको भए
तिम्रो धाराबाट
तिमी कति खिन्न हुन्थ्यौ होला !
कम्ता गारो त भएन मलाई
थिच्दा - थिच्दा
बल गर्दा - गर्दा
पसिना पसिना भएको थिएँ म
मेरो फेरी पुरानो प-यो
त्यो पाईप सफा गर्ने
मेरो हाते मेशिन ।


आनन्द श्रेष्ठ
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड
महाराजगञ्ज शाखा
पानीपोखरी
२०६७-१०-१०,२०:२४ बजे
(मेरो अफिसको वार्षिकोत्सवमा प्रकाशन हुने स्मारिकामा प्रकाशनको लागि रचित कविता – यहाँहरूलाई नदेखाई चित्तै बुझेन र त डाक्टरको सल्लाह पनि नकारेँ – फेरी कुनै दिन आउनेछु )

Thursday, January 20, 2011

गजल


हिजोको झैँ आज  नेता मान्ने दिन गैसकेछ
नेता गाला जनताले  हान्ने दिन भैसकेछ,

खबरदार ! नेताहरु तिम्रो बाटो तिमी जान
नजानेमा घरमै आई तान्न दिन आईसकेछ,


जाबो एउटा किताब कोर्न यती दिन लाउँदो रै'छौ
तिमीले सम्बिधान कोर्न जान्ने दिन  गैसकेछ,

देश भन्दा पार्टी अनि पार्टी भन्दा आफै ठुलो
नेता जीले अब त्यस्तो ठान्ने दिन गैसकेछ

कुम्ल्याउँ भन्थ्यौ राष्ट्र लुटी आफु मोटोघाटो बन्दै
हरिया नोठ पत्रिकाले बान्ने दिन गैसकेछ ।।।

(आजको ताजा खबरमा आधारित – गल्ती छुट्याउने जिम्मा स्रष्टाहरूमा सुम्पिएँ ।)
२०६७-१०-०६,०२:०० बजे






















गजल


कसलाई भनुँ मैले ? मेरै घरमा पानी छैन
खोला कुवा जाउँ भने शहरमा बानी छैन

रात दिन खटिएर मुहानदेखि धारासम्म
थोरै पानी थपुँ भन्छु थप्ने कुनै खानी छैन

आफ्नै घरमा नभए'सी अरूले के पाउलान त
ट्युबवेलको पानी पिउँदा भन्दिन त्यो हानी छैन

मैले बोल्या कस्ले यहाँ सुन्छ ध्यान दिईकन
मन्त्री ज्यूलाई भन्नुहुन्थ्यो मेरो चिनाजानी छैन ।।

२०६७-१०-०६,००:५८ बजे


गजल


मन यसै च्यातिया'थ्यो के थियो र सिउनलाई
बोतल नै सक्दा पनि पुगेन नि पिउनलाई

मस्त मस्त हावा थियो साथ दिने जाडो थियो
पिउनु थियो जिउनु थियो के थियो र लिउनुलाई

बहाना के चाहिया'थ्यो र ! मदमत्त बेला थियो
खोतले रै बाँची हेरेँ पुगेन नि जिउनलाई ।।।

२०६७-१०-०६,००:१६

गजल

पानी पर्दा सँगै हिड्दा छाता नभए हुन्थ्यो
उधारो खाई तिर्नु पर्ने खाता नभए हुन्थ्यो

जिन्दगीमा चाहे जति हिड्ने रहर गर्दा
नापिएर हिड्नुपर्ने हाता नभए हुन्थ्यो

दु:ख लेख्या जिन्दगीका पाना फाल्नु पर्दा
बचाएर राखिदिने गाता नभए हुन्थ्यो

मन पराउने सबै छोडी तिमीलाई भर पर्दा
झुक्याएर बाँच्नुपर्ने नाता नभए हुन्थ्यो ।।

२०६७-१०-०५,२३:१५ बजे

Wednesday, January 19, 2011

बिजुली

आजकल बिजुलीलाई फुर्सद छैन

कहिले मध्यरातमा आउँछे
कहिले झिसमिसेमै आउँछे
आजकल बिजुलीलाई फुर्सद छैन
कहिले वल्लो घरमा बस्छे
कहिले पल्लो घरमा बस्छे
डेरा सरेको सरै गर्छे सधै

आजकल बिजुली सारै थकित् छे
आजकल बिजुलीलाई आराम छैन
कहिले रात ढल्केपछि आउँछे
कहिले मध्यदिनमै आउँछे
जहिले आउँछे सुनसान हुँदा आउँछे
आजकल बिजुलीमा बिश्वास छैन ,

आजकल बिजुली ठूली भाछे
भात पकाउँदिन बिजुली-
भाँडा माझी सकेपछि आउँछे
लुगा धुँदिन बिजुली -
लुगा सुकीसकेपछि आउँछे
आजकल बिजुलीलाई समय छैन ,

सबै कहाँ एकैचोटी आउन सक्दिन बिजुली
समय मिलाई मिलाई आउँछे
सबैलाई भेट्ने समय दिन्छु भन्छे
आजकल बिजुली मन्त्रीभन्दा व्यस्त भाछे
आजकल बिजुलीमा तागत छैन
गाऊँघर टोलटोल घुमीहिड्छे
कहिले आउँदा आउँदै सुत्छे बिजुली
भन्छे आज अलि धेरै भयो ,धान्न सकिन,

आजकल बिजुलीलाई फुर्सद छैन
आजकल बिजुलीलाई आराम छैन ।।।
 २०६७-१०-०५,१६:३० बजे

Tuesday, January 18, 2011

तिम्रा गिध्दे नजर

पर्यटन वर्ष यो चलाउन के थालेँ थेँ
बर्ष यो पर्वको मनाउन के थालेँ थेँ
तिम्रो गिध्दे नजर
यहाँ नि छुटेन लगाउन
छिया छिया हुने गरी मुटु
तिम्रो म प्रतीको लाञ्छना
तिमी आफै फलाक्न त के सक्थ्यौ र !
आतँकित बनाई
सारा विश्वलाई
ठड्याई चोर औँला सबैलाई
कतै घुमेको देखेमा नेपाल
कारवाहीमा पर्नेछस् भन्दै
हे आतँककारीहरु हो !!
किन थोपरिस्
यो समग्र शान्तीप्रिय नेपालीलाई
आतङ्ककारीको सँघ्याले ??!!
कतै तिमीहरू
बुध्दको नक्कली जन्मथलोको
अपमानबाट त डराइनौ ?!!
कतै छिमेकीले तिमीहरूलाई
सौदावाजीमा त फसाएनन् ?!!
हेर एक फेर तिम्रै आव्हानमा
दोहो-याएर फेरी
कहीँ तिमीलाई नै अपाच्य नलागोस्
अर्काको घर फोड्न खोज्दा
कहीँ आफैलाई फर्किएर नलागोस्
सच्याउँछौ कि त तिमी
हेराई तिम्रो
गिध्दे नजरको ?!!

जयनेपाल ।
२०६७-०९-३०,०९:३५

तिम्रो याद] (गीत)

रात कालो भई अझ सामु किन छाईरहेछ
यो मुटुमा तिम्रो याद अझै किन आईरहेछ

तिम्रो याद मेटाउन धुँवालाई पीईरहेछु
आहत यो मुटुलाई उव्दिग्न भई जिईरहेछु
पुर्णिमाको रात पनि अँध्यारो नै लाईरहेछ
यो मुटुमा तिम्रो याद अझै किन आईरहेछ

अनाधृत यो मायाँलाई कुन मुटुमा बचाईराखुँ
अधम यो भाव सुनाई किन सबलाई हँसाईराखुँ
मनभित्रका स्वरहरु नबझिने भईरहेछ
यो मुटुमा तिम्रो याद अझै किन आईरहेछ

मेरो केही नसुनेर तिमी यसै रिसाईदियौ
भुल छैन मेरो तर दोष मलाई बिसाईदियौ
अङ्गीकार छ दोष सबै दोषी म झैँ लाइरहेछ
यो मुटुमा तिम्रो याद अझै किन आईरहेछ

चुम्बनका प्यास मेरा आफैभित्र मेटिसकेँ
जिन्दगीलाई साथी मैले अब थुप्रै भेटिसकेँ
मुटुभरि धुँवा राखी बाँच्छु जस्तो लाइरहेछ
यो मुटुमा तिम्रो याद अझै किन आईरहेछ

रात कालो भई अझ सामु किन छाईरहेछ
यो मुटुमा तिम्रो याद अझै किन आईरहेछ
२०६७-१०-०५,११:४५ बजे

श्राप(गीत)

कसको श्राप यो शिरमा आज परि गयो
हाँसी खुशी बाँच्ने रहर अब मरि गयो
मान्छे बन्न नजान्ने म
देवता बन्ने रहर गरेछु
त्यही रहरमा आज आफै
जिउँदो लाश झैँ गली मरेछु

कसको श्राप यो शिरमा आज परि गयो
हाँसी खुशी बाँच्ने रहर अब मरि गयो
मैले यहाँ रोई हेरेँ
हाँसी हेर्ने मौकै भएन
मैले यहाँ मरी हेरेँ
बाँची हेर्ने शँकै रहेन

कसको श्राप यो शिरमा आज परि गयो
हाँसी खुशी बाँच्ने रहर अब मरि गयो
जनता बन्न नजान्ने म
राजा बन्ने कोशिस गरेछु
त्यही रहरमा आज आफै
ढुङ्गा जस्तै एक्लै परेछु

कसको श्राप यो शिरमा आज परि गयो
हाँसी खुशी बाँच्ने रहर अब मरि गयो ।।
२०६७-१०-०४,२३:२५

Monday, January 17, 2011

गजल

दिन ढल्यो त के भयो रात बाँकी नै छ
धित मारी गर्नुपर्ने बात बाँकी नै छ

साथ हुँदा अल्झिएको याद बाँकी रह्यो
मन जल्यो त के भयो साथ बाँकी नै छ

आँधी हुरी यस्तो चल्यो रोक्न सकिएन
फुल ढल्यो त के भयो पात बाँकी नै छ

सम्झिएर बिगतका दिन काटी रहेँ
तन गल्यो त के भयो मात बाँकी नै छ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-१०-०३,२१:३५ बजे

Saturday, January 15, 2011

कसम खाँदिन (गीत)


तिमीलाई शँका हुन्छ मैले धोका दिन्छ भन्ने
तिमीलाई छोडी कतै अन्तै मायाँ लिन्छ भन्ने
कसम खाँदिन तर
तिमीलाई छोडी कतै अन्त जाँदिन

छाती चिरी देखाउन नसकिने हुँदो रै छ
तिमीलाई रुवाउने मन पनि कस्तो रै छ
कसम खाँदिन तर
तिमीलाई छोडी कतै अन्त जाँदिन

घरि –घरि सम्झिएर तिमी एक्लै रुँदै बस्दा
दुख्छ मुटु मेरो पनि ढिक्का ढिक्का आँसु खस्दा
कसम खाँदिन तर
तिमीलाई छोडी कतै अन्त जाँदिन
अन्तसम्म लान्छु तिमीलाई भागी जाँदिन ।

http://anshree.wordpress.com/2011/01/15/कसम-खाँदिन-गीत/

Friday, January 14, 2011

गजल

भुल्न खोजेँ पिरतीलाई भुल्न सकिन
आनन्द भै जीवनभरि झुल्न सकिन

पिरतीका पानाहरु कति थिए कति
मनभित्रै राखेँ थुपारी खुल्न सकिन

सस्तो भयो आँसु पनि जति खेरै बग्छ
कसैसँग हाँसी बसेर घुल्न सकिन

पिडा पनि कति सारो मेरो पछि लाग्छ
खुल्ला आकास छामी छामी डुल्न सकिन

शिरमा लाउने फुल भै फुल्न सकिन
ढोका छेउको खुशीभित्र हुल्न सकिन ।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-२६,बिहान०३:३० बजे

गजल

मेरो पनि तिम्रै मनको छेउमा बास थियो हिजो
मुटुभित्रै राख्छ्यौ भन्ने मनमा आश थियो हिजो

कती आए मन पराई बाटो हिड्न गारो थियो
प्यासी दिलको प्यास मेट्ने तिमी खाश थियो हिजो

तिमी बाहेक कोही थे'न यौबन बाँकी हुँदा खेरी
जहाँ हिंडे जहाँ पुगें त्यहाँ मायां रास थियो हिजो

छोडि गयौ एक्लै पारी छोड्छौ भन्ने शंकै थिएन
कुरी बसें तिमीलाई कुरी बस्ने सास थियो हिजो

जीवन यस्तो हुन्छ भन्ने कहाँ थियो र सोचाइमा
मैले सोचे मायाँ थियो तिम्रो लागि दाश थियो हिजो ।।

गल्कोपाखा साइबर क्याफे
२०६७-०९-२७, १८:०२

गजल

भो भो पर्दैन मनमा नबसाए हुन्छ
छेऊ पर्दिन मलाई नखसाए हुन्छ

थाहा पाउन कस्लाई बाँकी छ र ! यहाँ
चर्को बोलेर दुनियाँ नहँसाइ हुन्छ

कती बिषालु रहिछ्यौ चुसेरै लठ्यायौ
सर्प बोलाई कसैले नडसाए हुन्छ

कस्तो महँगो प्रेम यो दुनियाँ भरिको
पुग्यो मलाई अब त नफसाए हुन्छ

थामी जीवन यसरी जिउँदै छु आज
बौला भा'छैन मलाई नजचाए हुन्छ ।।

दुम्ब:मार्ग,सामाखुशी

२०६७-०९-३०,२३:३१

Sunday, January 9, 2011

के लेख्छस् तँ कविता !!


त्यो हिमाललाई हेर् त
बृध्दको दाँत फुस्केको जस्तो
कस्तो कुरुप देखिएको छ
केही सेता हिमाल
अनि
अत्यधिक काला चट्टानहरु
के तेरो कविताका शब्दहरूले
त्यो हिमाल पग्लन रोक्न सक्यो त ?!!
अनी
के लेख्छस तँ कविता ?!
जनतामा पुगेर हेर
जनतालाई छामेर हेर
महँगी,
असमानता

अत्याचार
दिनदिनै बढेको बढ्यै छ
रोक्न सक्यो त
तेरो कविताले यसलाई ?
अनि
के लेख्छस तँ कविता ?!
निरिह सिमाना सरेर
तेरो छिमेकमा छिरीसकेको छ,
अरू त के कुरा
तेरो कविताका शव्दहरुलाई नै हेर त
कति आयातित छन् ?
अनि
के लेख्छस तँ कविता ?!
अनि आफ्नै परिवारमा हेर त !
साहित्यिक बनभोजमा आएको हैन ?
तेरो दायाँतिर हेर त
मुन्नीको बदनामी भैरहेको छ
अनि बायाँतिर
डान्स बेबि डान्स रे !
कसले सुनेको छ तेरो कविता ?
अनि
के लेख्छस तँ कविता ?!
*****************************
(यो कविता वाचनपूर्व मैले आदरणीय कवि श्री मञ्जुल ज्युलाई सुनाएँ र वहाँले अति मन पराउनु भयो जुन व्यहोरा वहाँकै शब्दमा पछि अतिथी तर्फको वक्तव्यमा समेत सुन्न पाउँदा म अती हर्षित भएँ । वाचनपूर्वको वहाँको सुझावमा कविताका केही अँश र एउटा शव्दमा झिकिदिएँ र वहाँले भन्नुभएको – "मञ्जुलले तपाईँको कवितामा पालिस लगाईदियो " अझ ताजै छ मेरो दिमागमा । त्यसैगरी आदरणीय कवि तुलसी दिवसले तपाईँलाई ब्रेन ट्युमर भएको रहेछ तर कवितामा कतै ट्युमर भएको पाईन भनेर हौसाउनु भएको छ्यणले मनलाई आनन्दित पारेको थियो ।)
फेसबुक साहित्य सञ्जालद्वारा आयोजित
बृहत साहित्यिक कार्यक्रम
लाकुरेभञ्ज्याङ,ललितपुर
२०६७-०९-२४,शनिवार
दिउँसो १३:४० बजे,शुन्य समय

Thursday, January 6, 2011

पर्खाई ‍-हिजो र आज

 हिजोसम्म यही बचनलाई कुरी हिड्थ्यौ 
कहीँ केही झर्छ कि !
सडक गल्ली कहीँ छोडेनौ मेरो तिमीले
ईसारा क्यै गर्छ कि !
तिम्रो थियो जे थियो सपना त्यो
ईच्छ्या पुरा भै गयो
चिन्ता तिमीलाई क्यै छैन खै!
यो अभागी मर्छ कि !
********************************************
हिजो मेरो एक बचनमा
तिमी नदीमा फाल हाल्दथ्यौ
मनमा दु:ख भएनी
मुहारमा खुशी नै खुशी पाल्दथ्यौ
मैले केही जान्दिनथेँ ढोँग रच्न
मुखमा आएको सबै बोल्दथेँ
सम्बन्ध टुटाउन गरेको आदेश मसँगको
हाँसो मै टाल्दथ्यौ ,
*********************************************
कुर्छु अझै कुर्न त तिमीलाई नै
सास रहेसम्म केही गर्छौ कि
मैले पनि तिमीलाई नै बिश्वास गरे झैँ
भर पर्छौ कि
मेरा पनि थिए केही गल्ति
माफ गरिदिनु तिमीले मैले झैँ
म त झरेँ दुई खुड्किला
तिमी एक अझै झर्छौ कि !

२०६७-०९-१८,०१:१५ बजे

http://anshree.wordpress.com/2011/01/07/पर्खाई-‍-हिजो-र-आज/

Tuesday, January 4, 2011

गजल

जुन दिन मुर्छित भएँ म
त्यही दिन हर्षित भएँ म

लान्छौ भने लैजाऊ भनी
ईश्वरमा अर्पित भएँ म

खुशीयालीको माहौल थियो
देखेर त्यो गर्वित भएँ म

कालले मलाई पर्खिरा’थ्यो
स्पर्श गर्न बर्जित भएँ म

कालले मलाई के सक्थ्यो र !
बाँची आएँ चर्चित भएँ म ।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०९-२१,०३:१२ बजे

Sunday, January 2, 2011

गजल

तातेरै जिउनु पर्ने के थियो र जिन्दगीमा

मातेरै जिउनु पर्ने के थियो र जिन्दगीमा



गफैले मस्त पार्न जानेकै थियौ तिमीले

साटेरै जिउनु पर्ने के थियो र जिन्दगीमा



काटेरै जिउनु पर्ने ठानेकै थियौ तिमीले

फाटेरै जिउनु पर्ने के थियो र जिन्दगीमा



टालेरै बुट्टा भर्न जानेकै थियौ तिमीले

नापेरै जिउनु पर्ने के थियो र जिन्दगीमा



चाटेरै जिउनु पर्ने छानेकै थियौ तिमीले

छाँटेरै जिउनु पर्ने के थियो र जिन्दगीमा



दु:खलाई पिउनुपर्छ मानेकै थियौ तिमीले

ढाँटेरै जिउनु पर्ने के थियो र जिन्दगीमा ।।।।



दुम्ब:मार्ग,सामाखुशी

२०६७-०९-१९,०६:४५ बजे


http://anshree.wordpress.com/2011/01/03/गजल-4/

गजल

मान्छे मान्छे भिन्नता हुने रै छ सँसारमा
मानवता रै छ फरक मान्छे अनुसारमा

मेरो तेरो लाहाछाप खोतल्दै निधारमा
किन खोज्छ मान्छेले भिन्नता बिचारमा

रिक्तता त छदैँछ मनभित्रको आभासमा
मास्न खोज्यो कल्ले यहाँ आफ्नो व्यभिचारमा

मार्ग खोज्छ निकासको नसकी लाचारमा
दिक्क मान्दै सुनेरै ठुला लोकाचारमा

लुटी पुग्या छैन खै राष्ट्रको धनसारमा
आँखा छली ब्रम्हलुट भएकै छ भन्सारमा

दुम्ब: मार्ग,सामाखुशी
२०६७-०९-१८,०१:०० बजे

http://anshree.wordpress.com/2011/01/02/गजल-3/

Saturday, January 1, 2011

किन कि नेपाली तिमी !


हिम्मत नहारी शिर उठाई
भविष्य उज्यालो बनाउन लम्किने मान्छे तिमी !
पुरानो सालले जे गर्यो त्यो सिध्दियो
अब राम्रो गर्न गम्किने मान्छे तिमी !!
बिश्व भरि त कती छन् कती
गनेर के साध्य भयो र देश बनाउँछु भन्नेहरू
एक्लै भए नि म बनाउँछु
तिमी मात्र होस्टेमा हैँस्टे मिलाऊ भन्दै चम्कने मान्छे तिमी !!
कत्रा कत्रा नि झुके यहाँ
सकिन्न अब त भनी
तिमी मात्र नझुकेको कसैसँग
एक मात्र नेपाली मान्छे तिमी ! 
२०६७-०९-१७,१६:१७ बजे
दुम्ब:मार्ग,सामाखुशी