Wednesday, March 2, 2011

गजल -५८


(उखान र वाक्पध्दतीको गजल)
" घोडा चढ्ने लड्छ " भन्छ,तिमीले के जान्यौ ठुली !
" मर्नु भन्दा अगाडि नै खुट्टा तान्नु" तान्यौ ठुली,

"सिङ थाप्नु" " भात लाग्नु " ,तिम्रा लागि केही हैन
चिन्नु अघि " घाँटी पर्नु ", मलाई नै छान्यौ ठुली,

चिने पछि " मायाँ लाग्नु",आफ्नो ठाममा ठिकै थियो
बारम्बार " जीउ मार्नु ",किन फेरि हान्यौ ठुली ,

नयनको काम यस्तै,राम्रो लागे हेरि हाल्छ
मेरैमाथि " बात लाग्नु ",थियो भन्दै मान्यौ ठुली,

" पेट पाला गर्नु " थियो, ऐलेसम्म धान्यौ ठुली
" गोता खानु " खाए पनि," वाचा बाँध्नु " बान्यौ ठुली ।।
उखान र वाक्पध्दतीहरूको अर्थ –
" घोडा चढ्ने लड्छ "- काम गर्दा कहिले काँही बिग्रन्छ पनि ।
" मर्नु भन्दा अगाडि नै खुट्टा तान्नु"- लत्ता छोड्नु ।
"सिङ थाप्नु" – जोरी खोज्नु ।
"भात लाग्नु "- मातिनु ।
" घाँटी पर्नु "- धेरै खाँचो हुनु ।
" मायाँ लाग्नु"-मन पराउनु ।
" जीउ मार्नु " – ज्यानलाई कष्ट दिनु ।
" बात लाग्नु "- दोष लाग्नु ।
" पेट पाला गर्नु "- जीविका चलाउनु ।
" गोता खानु " – दु:ख पाउनु ।
," वाचा बाँध्नु "- प्रतिज्ञा गर्नु ।
०६७-११-१८,१४:२५ बजे