Wednesday, January 19, 2011

बिजुली

आजकल बिजुलीलाई फुर्सद छैन

कहिले मध्यरातमा आउँछे
कहिले झिसमिसेमै आउँछे
आजकल बिजुलीलाई फुर्सद छैन
कहिले वल्लो घरमा बस्छे
कहिले पल्लो घरमा बस्छे
डेरा सरेको सरै गर्छे सधै

आजकल बिजुली सारै थकित् छे
आजकल बिजुलीलाई आराम छैन
कहिले रात ढल्केपछि आउँछे
कहिले मध्यदिनमै आउँछे
जहिले आउँछे सुनसान हुँदा आउँछे
आजकल बिजुलीमा बिश्वास छैन ,

आजकल बिजुली ठूली भाछे
भात पकाउँदिन बिजुली-
भाँडा माझी सकेपछि आउँछे
लुगा धुँदिन बिजुली -
लुगा सुकीसकेपछि आउँछे
आजकल बिजुलीलाई समय छैन ,

सबै कहाँ एकैचोटी आउन सक्दिन बिजुली
समय मिलाई मिलाई आउँछे
सबैलाई भेट्ने समय दिन्छु भन्छे
आजकल बिजुली मन्त्रीभन्दा व्यस्त भाछे
आजकल बिजुलीमा तागत छैन
गाऊँघर टोलटोल घुमीहिड्छे
कहिले आउँदा आउँदै सुत्छे बिजुली
भन्छे आज अलि धेरै भयो ,धान्न सकिन,

आजकल बिजुलीलाई फुर्सद छैन
आजकल बिजुलीलाई आराम छैन ।।।
 २०६७-१०-०५,१६:३० बजे