Friday, March 4, 2011

गजल - ६४


दु:ख पर्दा तिमीसँग, जँघार नि तरेकै हो
तिमीमाथि जानी जानी, मैले गल्ती गरेकै हो,

आकाशको तारा झार्ने, कसम के खाईन र !
झुठो वाचा गर्दा गर्दै, मनको खल्ती भरेकै हो,

घरभित्रै फुल थियो, काँढा खोज्दै बाहिरिएँ
जान्दै जान्दै भिर खोज्दा, ओरालोमा झरेकै हो ,

छाडी गएँ घरवार, नयाँ घर बसाउन
रातले जब जिस्क्याउँथ्यो, पर्नु पीर परेकै हो,

दुनियाँ त दर्शकै हो,रुँदा ताली बजाउँछ
तिम्रो दोष देखाउन,लाञ्छना त छरेकै हो,

भुल भयो माफ गर,तिम्रै दिलमा राख फेरि
मर्नु पर्ने खड्को थियो,ऐलेलाई टरेकै हो ।।

२०६४-११-२०,२२:४४ बजे ।


No comments:

Post a Comment